जीवन धान्न नौ महिना चौँरी खर्कको बास
सिन्धुपाल्चोक | कात्तिक १६, २०७९
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ तेम्बाथानका जाङ्बु शेर्पाको बास वर्ष दिनमा नौ महिना उच्च हिमाली भेगमा बित्छ । घर खर्च चलाउनका लागि चौंरी स्याहार्दै जङ्गली जनावरको समेत सामना गर्दै उहाँ बाँकी तीन महिनाका लागि मानव बस्तीमा झर्नुहुन्छ ।
हरेक वर्ष पुसदेखि कात्तिकसम्म शेर्पाले विकट हिमाली भेगमा रहेको चौँरी खर्कमा बिताउने गर्नुभएको छ । यो समयमा उहाँको सङ्गत आफ्नै परिवारका सदस्यका अलावा चौँरी र आसपासका चौँरीपालक किसानसँग मात्र हुन्छ । पुस्ताँैदेखि चौँरीपालन व्यवसाय गर्दै आउनुभएका शेपा मात्रै होइन, सिन्धुपाल्चोककै पारिगाउँको नामले चिनिने जुगल गाउँपालिका–३ गुम्बाका दर्जन बढी चौँरीपालक किसानको दैनिकी हो यो ।
चौँरीबाट हुने आम्दानीका लागि शेर्पाले नौ महिनासम्म दुःख गरेर आफ्नो जीविकोपार्जन धान्ने गरेका छन् । आफ्नो परिवारसमेत सँगै लैजाने गरेको उहाँले सुनाउनुभयो । “पढेको छैन, अरु सीप पनि छैन”, शेर्पा भन्नुहुन्छ, “परिवारको सदस्यलाई पाल्नसक्ने खर्चको जोहो गर्नकै लागि लेकको बास भएको छ ।”
वर्षमा पाँचभन्दा बढी ठाउँमा चौँरीको गोठ सार्नुपर्छ । साथसाथै चौँरीपालकले आफ्ना बालबच्चाको आश्रय पनि परिवर्तन गरिरहेका हुन्छन् । जुगल हिमालको बेसक्याम्प रहेको पुम्बासेर्पु, नेपेमासालसम्म उनीहरूले चौँरीको गोठ सार्छन् । पुम्बासेर्पु समुद्री सतहबाट चार हजार पाँच सय मिटरमा पर्छ । ‘बाबु हजुरबादेखि थाहा भएसम्म यही पेसा गरेँ, खर्कमै हुर्किएँ अनि मैले पनि यही पेसालाई निरन्तरता दिएँ”, जुगल हिमालको फेदीमा पर्ने ङिमाल्हा खर्कमा भेटिएका जाङ्बुले भन्नुहुन्छ, “चाँैरी चराउने, दुहुने, छुर्पी र घिउ बनाउने दिन यसरी नै बित्छ”, बच्चैदेखि हिमाली भेगमै बसेकाले जङ्गली जनावरको डर नलाग्ने उहाँ बताउनुहुन्छ ।
खर्कका पुरुष सदस्य अन्न सकिएपछि गाउँमा खाद्यान्न लिन जाने भए पनि महिला र बालबालिकाले नौ महिनाको अवधिमा कुनै घर र नौला मान्छे देख्न पाउँदैनन् । सारा संसार खर्क नै हुन्छ । उनीहरु जाडो बढ्दै गएपछि केही समय मानव बस्तीको नजिक पुग्ने भए पनि बाँकी समय फराकिलो खर्कको सीमित व्यक्तिसँगको सहकार्यमै रमाउँछन् ।
छ जनामध्ये चार जनाको परिवारसहित खर्कमा भेटिएका पेरोम्जी शेर्पा वर्षभरि दुःख गरेर रु दुई लाखसम्म आम्दानी हुने बताउनुहुन्छ । “आफँै बजार पुग्न भ्याइँदैन, खर्कमै आएर ठेकेदारले दिएको मूल्यमा छुर्पी र घिउ बेच्नुपर्छ”, शेर्पा भन्नुहुन्छ, “दुःख धेरै आम्दानी कम भए पनि चित्त बुझाउनुपरेको छ ।” शेर्पाका पछिल्ला दुई सन्तान आफन्तकामा बसेर पढ्दै गरेको भए पनि अघिल्ला एक छोरी र छोराले भने खर्कमा आफूलाई सघाउनुपर्दा पढ्न पाएका छैनन् ।
बाबु–आमालाई सघाउन खर्कमा बसेकी १७ वर्षीया फूर्पा शेर्पालाई गाउँ जाँदा आफ्ना उमेरका साथीहरूको व्यवहार अनौठो लाग्छ । खर्कमा जन्मिएर खर्कमै हुर्किएकी फूर्पालाई वर्षको तीन महिना गाउँ नजिक हुँदा गाउँले जीवनले लोभ्याउँछ तर पनि उहाँ चौँरी, खर्क र आफ्नो परिवारको घेराबाट निस्कन सक्नुभएको छैन ।
“गाउँ पुग्दा साथीहरूले के–के कुरा गर्छन्, म त केही बुझ्दिनँ”, मुस्किलले थोरै मात्र नेपाली भाषा बोल्ने फूर्पाले भन्नुभयो, “बा–आमालाई सघाउनुपरेकाले गोठमै बस्नुपर्छ, गाउँका कुरा केही थाहा हुँदैन ।”
साविक गुम्बा गाविसको तेम्बाथान र दिपुबाट पुसमा गोठ सार्न थालेपछि यहाँका चाँैरीपालक किसान निमाला, दोङ्जाङमा, चाँसीखर्क, थालदर, नेपेमासाल हुँदै जुगल हिमशृङ्खलाको बेसक्याम्प पुम्बासेर्पुसम्म गोठ सार्छन् । तेम्बाथान र दिपुलगायत गाउँका शेर्पाहरूको प्रमुख आयस्रोत नै चौँरी व्यवसाय हो ।
पोखरा: प्रधानमन्त्री कप (पिएम कप) कास्की जिल्ला क्लबस्तरीय एक दिवसीय क्रिकेटमा शनिबार २ खेल सम्पन्न भएका छन् । पोखरा र लेखनाथस्थित क्रिकेट मैदानमा भएको खेलमा लेखनाथ र अरण्यज्योतिले आ–आफ्नो खेलमा जित हासिल गर...
बागलुङ: हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । लोकमार्गको बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा हिमपात हुँदा अवरुद्ध भएको थियो । लोकमार्गमा बाक्ल...
पोखरा: पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सव उत्सव र पर्वकै रुपमा हेरिन थालिएको छ । आयोजक युनाईटेड क्लबले स्थापना कालदेखिनै हरेक पुषको अन्तिम साता देखि माघको पहिलो हप्ता सम्म पोखरा महोत्सवको आयोजना...

